प्रहार समाचार । तनहुँ, १५ फागुन २०८२ शुक्रबार । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जाली नोट पहिचान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। निर्वाचन नजिकिँदै जाँदा नगद कारोबार बढ्ने र त्यसको आडमा जाली नोट प्रयोग हुने सम्भावना उच्च रहने भन्दै आम नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पोखरा कार्यालयका निर्देशक केशव प्रसाद तिमल्सिनाले वर्षेनी सय, पाँच सय र हजार दरका जाली नोटहरू फेला पर्ने गरेको जानकारी दिए। उनले जाली नोट भेटिएमा प्रयोग नगर्नु नै सबैभन्दा सुरक्षित उपाय भएको उल्लेख गर्दै नजिकको बैंक वा प्रहरी कार्यालयमा बुझाउन सबैलाई अनुरोध गरे। निर्वाचन जस्तो संवेदनशील समयमा जाली नोटको प्रयोगले आर्थिक अपराध बढ्नुका साथै सामाजिक अविश्वाससमेत सिर्जना गर्न सक्ने भएकाले नागरिक स्वयं सजग हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सत्यवती माध्यमिक विद्यालय, दमौलीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यार्थी र समुदायस्तरमै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। उनले आर्थिक अपराध नियन्त्रणका लागि ज्ञान र जानकारी नै सबैभन्दा प्रभावकारी हतियार भएको उल्लेख गरे।

सहायक निर्देशक सरस्वती कार्कीले जाली नोट पहिचान गर्ने विधि, सुरक्षाचिन्ह, पानीछाप, धागो र छपाइका विशेषता व्यवहारिक रूपमा सिकाएकी थिइन्। कार्यक्रमको सहजीकरण सहायक निर्देशक अजित कुमार सी.के. ले गरेका थिए।


कार्यक्रममा दमौली आसपासका बैंक तथा वित्तीय संस्था, विद्यार्थी, पत्रकार तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।


सहभागीहरूले यस्ता कार्यक्रमले निर्वाचन अवधिमा मात्र नभई दैनिक जीवनमा समेत सुरक्षित नगद कारोबारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।



























