हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा निर्वाचन खर्च पारदर्शितामै प्रश्न : चार दलका उम्मेदवारले बैंक खाता नै नखोलेको खुलासा

प्रहार समाचार । तनहुँ, १३ फागुन २०८२ बुधबार । आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको खर्च पारदर्शिता र कानुनी अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। तनहुँका निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिस्पर्धामा रहेका चार राजनीतिक दलका उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य मानिएको बैंक खाता नै नखोलेको पाइएको छ।

यसरी बैङ्क खाता नखोल्नेहरुमा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार रामलक्ष्मी दुवाल, आम आदमी पार्टीकी उम्मेदवार चिजा माया अधिकारी, द जनमुक्ति पार्टीका उम्मेदवार लालबहादुर सार्की गोतामे रहेको निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले प्रहार समाचारलाई बताए । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट नेमकिपाकै उम्मेदवार लक्ष्मण अधिकारीले पनि हालसम्म खर्च कारोबारका लागि बैंक खाता नखोलेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने स्पष्ट व्यवस्था छ। नगद कारोबारलाई निरुत्साहित गर्दै खर्चको स्रोत, सीमा र विवरण पारदर्शी बनाउन यो व्यवस्था गरिएको हो। तर खाता नै नखोल्दा उम्मेदवारले गर्ने खर्चको अनुगमन कठिन हुने र आचारसंहिता उल्लंघनको जोखिम बढ्ने निर्वाचन कार्यालयको ठहर छ।


निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवारका लागि अधिकतम ३१ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको छ। सो सीमाभित्र रहेर खर्च भए–नभएको यकिन गर्न बैंक खाता अनिवार्य मानिएको हो। निर्वाचन अधिकारी लम्सालका अनुसार सम्बन्धित उम्मेदवारलाई समयमै बैंक खाता खोली खर्च बैंकिङ प्रणालीबाट गर्न मौखिक तथा लिखित रूपमा जानकारी गराइसकिएको छ।


निर्वाचन नजिकिँदै गर्दा समेत केही उम्मेदवारले आधारभूत प्रक्रिया पूरा नगर्नुले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि प्रश्न उठेको छ। निर्वाचन कार्यालयले तोकिएको प्रक्रिया पालना नगरे कानुनअनुसार कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button