प्रहार समाचार । कास्की, १३ फागुन २०८२ बुधबार । अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार –२०८२ यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुशुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ। लोककवि अली मियाँको १०८ औँ जन्मजयन्तीको अवसर पारेर यही फागुन १५ गते शुक्रबार आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । नेपाली साहित्य र लोकवाङ्मयको क्षेत्रमा करिब चार दशकदेखि निरन्तर योगदान दिँदै आएका न्यौपाने साढे तीन दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत रहे। अनुसन्धानमुखी लेखनमा परिचित न्यौपानेका आधा दर्जनभन्दा बढी अनुसन्धानात्मक कृति प्रकाशित छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका गोष्ठी र कार्यशालाहरूमा चार दर्जनभन्दा बढी कार्यपत्र तथा प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।
साहित्यकार कृष्णप्रसाद पौडेलको संयोजकत्वमा रामबहादुर कोइराला र धर्मराज पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले न्यौपानेलाई सम्मानका लागि सिफारिस गरेको हो। समितिका अनुसार लोकसाहित्य, लोकसंस्कृति र समालोचनात्मक लेखनमा न्यौपानेको दीर्घकालीन योगदानलाई कदर गर्दै उनलाई यस वर्षको सम्मान प्रदान गर्न लागिएको हो।
यसअघि मियाँ लोकवाङ्मय सम्मानबाट धर्मराज थापा, हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रेमराजा महत, वमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतिलाल पराजुली, डा. बाबुराम अधिकारी, चेतन कार्की, आना मेरी स्टर, नारायण रायमाझी र डा. जगमान गुरुङलगायतका व्यक्तित्व सम्मानित भइसकेका छन्।

लोकसाहित्य र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टालाई कदर गर्ने उद्देश्यले स्थापना गरिएको यो सम्मानले नेपाली लोकवाङ्मयको पहिचान र महत्वलाई थप उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।



























