हेडलाईनसमाचारप्रदेश

‘निमुखालाई ऐन, ठूलालाई चयन’ अब चल्दैन ।’ काङ्ग्रेसको प्रतिज्ञापत्रमार्फत सुशासनको प्रतिज्ञा

प्रहार समाचार । काठमाडौँ, ७ फागुन २०८२ बिहीबार । नेपाली कांग्रेसले अब राज्य सञ्चालनमा ‘निमुखालाई ऐन, ठूलालाई चयन’ हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट संकल्प गरेको छ। पार्टीले सार्वजनिक गरेको संकल्प प्रस्ताव (प्रतिज्ञापत्र) मार्फत कानून सबैका लागि समान हुने र न्यायमा पहुँच वर्ग, हैसियत वा शक्तिका आधारमा फरक नपर्ने दाबी गरेको हो। कांग्रेसले हरेक नेपालीको स्वाभिमान, आर्थिक समृद्धि र सुशासनलाई केन्द्रमा राख्दै राज्यले नागरिकलाई ‘कोखदेखि वृद्धावस्थासम्म’ संरक्षण गर्ने नीति अघि सारेको छ।

प्रशासनिक सुधार र सुशासनलाई प्रमुख एजेन्डा बनाएको कांग्रेसले ‘डिजिटल नेपाल’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गरेर भ्रष्टाचार नियन्त्रण गर्ने जनाएको छ। सरकारी सेवामा देखिएको ढिलासुस्ती, झन्झट र अनियमितता अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने उल्लेख छ। न्याय क्षेत्रमा समान पहुँच सुनिश्चित गर्दै शक्तिशालीलाई छुट र कमजोरलाई मात्र कानून लाग्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ। साथै संवैधानिक तथा राज्यका महत्त्वपूर्ण निकायहरूलाई राजनीतिक दलीयकरणबाट मुक्त राख्ने संकल्प पनि प्रतिज्ञापत्रमा समेटिएको छ।

नेपाली कांग्रेसको संकल्प प्रस्ताव (प्रतिज्ञापत्र) का मुख्य–मुख्य बाँधाहरू :
• ‘निमुखालाई ऐन, ठूलालाई चयन’ को अन्त्य
• कानून सबैका लागि समान, न्यायमा पहुँच हैसियत र शक्तिका आधारमा फरक नहुने।
• सुशासन र प्रशासनिक सुधार
• सरकारी सेवामा ढिलासुस्ती र अनियमितता अन्त्य, राज्यका निकाय दलीयकरणबाट मुक्त।
• डिजिटल नेपालमार्फत भ्रष्टाचार नियन्त्रण
• सेवा प्रवाह प्रविधिमैत्री बनाइ पारदर्शिता र जवाफदेहिता बढाउने।
• कोखदेखि वृद्धावस्थासम्म राज्यको संरक्षण
• नागरिकको जीवनचक्रलाई समेट्ने सामाजिक र स्वास्थ्य सुरक्षा।
• स्वदेशमै रोजगारी सिर्जना
• युवा पलायन रोक्ने, स्वदेशमै काम र अवसर सिर्जना गर्ने नीति।
• आर्थिक रूपान्तरण र लगानी प्रोत्साहन
• साना, मझौला र ठूला लगानीकर्तालाई सहज वातावरण।
• विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजी उपयोग
• प्रवासी नेपालीलाई विकास प्रक्रियामा जोड्ने।
• कृषिलाई मर्यादित रोजाइको पेसा बनाउने
• निर्वाहमुखी कृषिबाट व्यावसायिक र सम्मानजनक कृषि तर्फ रूपान्तरण।
• शिक्षामा सुधार
• प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्म प्रविधिमैत्री र श्रम बजारसँग जोडिएको शिक्षा।
• स्वास्थ्य क्षेत्रमा व्यापक सुधार
• आधारभूतदेखि विशिष्टीकृत सेवासम्म पहुँच सुनिश्चित।
सन्तुलित परराष्ट्र नीति
• राष्ट्रहितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने।

आर्थिक रूपान्तरणतर्फ कांग्रेसले स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै युवा पलायन रोक्ने नीति अघि सारेको छ। साना, मझौला र ठूला लगानीकर्तालाई प्रोत्साहन गरी अर्थतन्त्र चलायमान बनाउने, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकासमा जोड्ने योजना प्रस्तुत गरिएको छ। कृषिलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट बाहिर निकालेर ‘मर्यादित र सम्मानजनक रोजाइको पेसा’ बनाउने लक्ष्य लिइएको छ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि कांग्रेसले नयाँ दृष्टिकोण अघि सारेको छ। गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्ने, शिक्षा प्रणालीलाई प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्म प्रविधिमैत्री र श्रम बजारसँग जोडिएको व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। यससँगै सन्तुलित र राष्ट्रहित केन्द्रित परराष्ट्र नीतिमा अघि बढ्ने प्रतिवद्धता जनाउँदै कांग्रेसले प्रतिज्ञापत्रमार्फत अबको राजनीतिक बहसलाई सुशासन, रोजगारी र समृद्धितर्फ केन्द्रित गर्ने संकेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button