प्रहार समाचार । तनहुँ, ६ फागुन २०८२ बुधबार । प्रजातन्त्र दिवस–२०८२ को अवसरमा दमौलीमा नागरिकहरूको सक्रिय सहभागितामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समारोह समिति तनहुँको आयोजनामा गरिएको कार्यक्रममा बिहानैदेखि दमौली बजार क्षेत्र केन्द्रित सरसफाइ अभियानमा स्थानीय बासिन्दा, व्यवसायी र स्वयंसेवकहरू सडकमा उत्रिएका थिए।

कार्यक्रमको संयोजन तथा सहकार्य व्यास नगरपालिका वडा नं. ३ र तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईले गरेको थियो। सरसफाइका क्रममा मुख्य सडक, सार्वजनिक स्थल र बजार क्षेत्रका फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो। सहभागीहरूले स्वच्छ वातावरण नै जिम्मेवार नागरिकताको परिचय भएको बताएका थिए।
कार्यक्रममा जिल्ला समारोह समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, वडा नं ३ का वडाअध्यक्ष अनुप राना, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल लगायतको सहभागिता रहेको थियो । सहभागीहका अनुसार प्रजातन्त्र दिवसलाई भाषण र औपचारिकतामा मात्र सीमित नराखी नागरिक सहभागितामार्फत अर्थपूर्ण बनाउन कार्यक्रम गरिएको हो। स्थानीय स्तरमा भएको यो सरसफाइ अभियानले प्रजातन्त्र दिवसलाई व्यवहारसँग जोड्दै सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।



























