प्रहार समाचार । जनकपुर, ६ फागुन २०८२ बुधबार । भाषण होइन, प्रतिज्ञाको कसम बोकेर गगनकुमार थापा आज जनकपुर पुगे। जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले भने—“राजा जनकले जस्तै नेपाली कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि सर्ने छैन।” उनका अनुसार अब पार्टीले घोषणा र नाराभन्दा माथि उठेर अक्षरस पालना हुने प्रतिज्ञाको राजनीति गर्ने छ ।

प्रतिज्ञासभामा नेपाली कांग्रेसले १० बुँदे परिकल्पना सार्वजनिक गरेको छ। उक्त परिकल्पनामा हरेक नेपालीलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्ने, प्रत्येक नागरिकले सपना देख्न र जीवनकालमै साकार पार्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता उल्लेख छ। पेटभरी खान पाउने, स्वदेशी उत्पादनलाई विश्व बजारमा चिनाउने र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुने लक्ष्य पनि दस्तावेजमा समेटिएको छ।
शिक्षा र स्वास्थ्यलाई मूल अधिकारका रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता पनि परिकल्पनामा राखिएको छ। “छोराछोरी पढाउँदा ऋण काढ्न नपर्ने र उपचार गराउँदा डराउन नपर्ने नेपाल बनाउँछौं,” थापाले भने। मौलिकतामा गौरव गर्ने तर आधुनिकतामा अघि बढ्ने, विश्वले स्वाभिमानी देशका रूपमा चिन्ने र नेपाललाई समुन्नतिको बाटोमा अघि बढाउने लक्ष्य कांग्रेसले अघि सारेको छ।
राज्यप्रति जनविश्वास पुनःस्थापित गर्ने विषयमा पनि थापाले जोड दिए। उनले प्रश्न उठाउने वातावरण सुरक्षित हुनुपर्ने बताउँदै भने, “अब प्रश्न गर्दा भदौ २३ गतेजस्तो मारिनुपर्दैन भन्ने बनाउँछौं।” साथै, सरकारी सेवा लिन फाइल बोकेर काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “अब हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दैन, यो हाम्रो प्रतिज्ञा हो।”
मधेशको ऐतिहासिक भूमि जनकपुरधामबाट गरिएको यो घोषणालाई कांग्रेसले नयाँ राजनीतिक अध्यायको सुरुआतका रूपमा प्रस्तुत गरेको छ ।



























