हेडलाईनसमाचारप्रदेश

‘विधान विपरीत निर्णय र आर्थिक अनियमितता’ आरोप लगाउँदै शर्माले त्यागिन रास्वपा

प्रहार समाचार । काठमाडौं, ६ फागुन २०८२ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक /सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। २०७९ श्रावण १० गतेदेखि पार्टीमा सक्रिय रहँदै आएकी शर्मा हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत थिइन्। मंगलबार केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै उनले आजकै मितिदेखि लागू हुने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

राजीनामा पत्रमा उनले आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको उल्लेख गरेकी छन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर पार्टीमा लागेको बताउँदै उनले संगठनमा दिनरात खटिएका ‘घण्टी मित्र’हरूको योगदानको उचित मूल्यांकन नभएको, विधि–विधानविपरीत गतिविधि भएको र आर्थिक अनियमितताबाट निर्णयहरू प्रभावित भएको आरोप लगाएकी छन्।


पार्टीभित्र भइरहेका गतिविधिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको भन्दै अब मौन बस्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनले जनाएकी छन्। यद्यपि, यस अवधिमा पार्टीले दिएको अवसर, सहकार्य र अभिभावकत्वप्रति आभार व्यक्त गरेकी छन्। निर्वाचनको मुखमा आएको उनको बहिर्गमनले मधेस प्रदेशमा रास्वपाको संगठन र आन्तरिक अवस्थाबारे नयाँ प्रश्न खडा गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button