प्रहार समाचार । काठमाडौं, ६ फागुन २०८२ ठ बुधबार । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको नियमनमा कडाइ बढाउँदै नियम उल्लंघन गर्ने बैंक र तिनका उच्च पदाधिकारीमाथि प्रत्यक्ष कारबाही थालेको छ। बैंक सुपरीवेक्षण विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा निर्देशन अटेर गर्ने तीन बैंक कारबाहीको दायरामा परेका हुन्।

केन्द्रीय बैंकले चेतावनी मात्र नभई नगद जरिबाना र औपचारिक सचेतसमेत गराउँदै ‘नियम उल्लंघन सह्य नहुने’ सन्देश दिएको छ।
कारबाहीको सबैभन्दा कडा प्रहार एनआइसी एसिया बैंकमाथि परेको छ। केन्द्रीय बैंकका निर्देशन र लिखित आदेश पटक–पटक उल्लंघन गरेको तथा नियमविपरीत वित्तीय विवरण प्रकाशन गरेको ठहर गर्दै राष्ट्र बैंकले तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन सीईओ रोशनकुमार न्यौपानेलाई जनही दुई लाख रुपैयाँ नगद जरिबाना गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० प्रयोग गर्दै गरिएको यो कारबाहीले बैंकिङ नेतृत्वको व्यक्तिगत जिम्मेवारीसमेत स्पष्ट पारेको छ। कारबाहीमा परेका बैङ्कहरु :

यस्तै, ग्लोबल आइएमई बैंकका सीईओलाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको, कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनामा कमजोरी देखिएको र कोर बैंकिङ प्रणालीमै जोखिमपूर्ण त्रुटि भेटिएको भन्दै सचेत गराइएको छ। उता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा दिएको, ब्याजदर अन्तर सीमा नाघेको र चालु पुँजी कर्जा मार्गदर्शन उल्लंघन गरेको पाइएकाले सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गरिएको छ। राष्ट्र बैंकको यो कदमले बैंकिङ क्षेत्रमा अनुशासन र जवाफदेहिता बलियो बनाउने संकेत दिएको छ।



























