हेडलाईनसमाचारबन्दीपुरगण्डकी

७१ वर्ष पछि पाइन तनहुँकी मंगली भुजेलले नागरिकता

प्रहार समाचार । तनहुँ, ६ फागुन २०८२ बुधबार । चाउरी परिसकेको अनुहार, पातलो शरीर, न लगाउने राम्रो लुगा न त खुट्टामा चप्पल। ७१ वर्षको उमेर काट्दा पनि जीवनका अधिकांश दिन अभाव र बेवास्तामै बिताएकी मंगली भुजेलको चाहना कहिल्यै ठूलो थिएन। उनलाई न धन–दौलत चाहिएको थियो, न दरबारजस्तै घर। उनको एउटै धोको थियो—मर्ने बेलामा “म नेपाली हुँ” भनेर गर्वका साथ भन्न पाउने।

हिंजो फागुन ५ गते त्यो धोको पूरा भयो मंगली भुजेलको ।
वर्षौंसम्म नागरिकता नपाउँदा राज्यकै नजरबाट ओझेल परेकी, आफन्त कोही नभएकी बेसहारा मंगली भुजेलले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र पाइन्। आफ्नै घरमा कोही नयाँ मान्छे पुगे पनि “सायद आज त नागरिकता बनाइदेलान् कि” भन्ने आशामा दिन काटेकी मंगली नागरिकता हात परेपछि अत्यन्तै खुशी देखिइन्।


बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा संरक्षक रही, वडा अध्यक्ष दानबहादुर थापा लगायत स्थानीय जनप्रतिनिधि तथा कर्मचारी साक्षी बसेर नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीको पहलमा मंगलीको नागरिकता बनेको हो। नागरिकता पाएपछि उनले अध्यक्ष, कर्मचारी, सहायक सर सबैलाई “सधैं राम्रो होस् है” भन्दै मनदेखि आशिष दिइन्।
“नागरिकता नहुँदा धेरै दुःख पाइयो,” भावुक हुँदै उनले भनिन्, “अहिले पाएँ, अब त ढुक्क भएँ।” उनको अर्को वाक्यले भने त्यहाँ उपस्थित सबैलाई भावुक बनायो—“अब राम्रोसँग निद्रा लाग्छ, नागरिकता सिरानीमा राखेर सुत्ने धोको पनि पूरा भयो।”
जीवनभर नागरिकताको खोजीमै भौँतारिनुपरेकी मंगलीले नागरिकताकै लागि जो–कोहीसँग बिन्ती बिसाउनुपरेको पीडा सम्झँदा आज पनि आँखा रसाउँछ। नागरिकता नहुँदा न राज्यको सेवा सहजै पाइन, न आफू नागरिक भएको अनुभूति नै गर्न सकिन।


विक्रम संवत् २०११ सालमा बुवा सुकबर भुजेल र आमा पाकुली भुजेलको कोखबाट जन्मिएकी मंगली भुजेल तनहुँको बन्दिपुर–४, लोही पाखामा बस्दै आएकी छन्। उमेर ढल्किँदै जाँदा पनि पहिचानविहीन जस्तै जीवन बिताएकी मंगलीका लागि यो नागरिकता केवल कागजको टुक्रा होइन, यो उनको अस्तित्व र पहिचानको आधिकारिक मान्यता हो। ७१ वर्षपछि हात परेको नागरिकताले मंगलीलाई ठूलो राहत र शान्ति दिएको छ। अब उनी ढुक्कसँग भन्न सक्छिन्—“म नेपाली हुँ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button