प्रहार समाचार । काठमाडौं, ५ फागुन २०८२ मङ्गलबार । चुनावी प्रचारको तालिका रहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा अदालतले उनलाई आउँदो २०८२ चैत १५ गतेका लागि साधारण तारिख तोकेर फर्काएको हो ।

आज कार्यालय समय सकिनुअघि आफ्ना सहयोगीसहित अदालत पुगेका लामिछाने चितवनबाट सिधै काठमाडौं आएका थिए । चुनावी प्रचारकै सिलसिलामा रहेका बेला मुद्दाको तारिख लिन राजधानी आएको बताइएको छ । अदालतमा छोटो समय बसेर औपचारिक प्रक्रिया पूरा गरेपछि उनी पुनः चुनाव अभियानमै फर्किएका छन् ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा पुर्पक्ष गर्न आदेश दिएको थियो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चैत १५ गते पनि साधारण तारिखमै उपस्थित हुनुपर्नेछ र उक्त दिन मुद्दाको सुनुवाइ हुने छैन ।
“ उनलाई २०८२ चैत १५ गतेको साधारण तारिख दिइएको छ । सो दिन पनि उपस्थित हुनुपर्छ, तर सुनुवाइ हुँदैन,” श्रेष्ठले जानकारी दिए ।
सहकारीको रकम अपचलनसम्बन्धी यस मुद्दामा लामिछानेमाथि गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्यको हैसियतमा अभियोग लगाइएको हो । उक्त प्रकरणमा छविलाल जोशी बञ्जाडे, स्वर्णलक्ष्मी सहकारीका तत्कालीन अध्यक्ष जीबी राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामासहित ३९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालयका अनुसार सहकारीमा एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको रकम अनियमितता भएको आरोप छ । सोही आधारमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाउँदै सजायको मागदाबी गरिएको छ ।
राजनीतिक रूपमा चुनावी मैदानमा सक्रिय नेतामाथि चलिरहेको यो मुद्दाले रास्वपाको चुनावी अभियान र सार्वजनिक धारणा दुवैमा प्रभाव पार्ने अनुमान गरिएको छ । अदालतको प्रक्रिया एकातिर चलिरहँदा अर्कोतिर लामिछाने भने चुनावी सभासभा र भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।



























