प्रहार समाचार । तनहुँ, ५ फागुन २०८२ मङ्गलबार । नेपाली कांग्रेसका उप सभापति विश्वप्रकाश शर्माले आफैँ बदलिन सक्नेले मात्र देशलाई बदलिन सक्ने बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले दमौलीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले कांग्रेस अब केवल इतिहासको ब्याज खाने पार्टी नभएर, समयको पदचाप बुझ्दै आफैँलाई रूपान्तरण गरेर जनताको माझमा आएको उल्लेख गरे ।

शर्माले २० भदौको आन्दोलन र त्यस क्रममा ज्यान गुमाएका ७४–७५ जना जेनजी युवाहरूको स्मरण गर्दै समाजमा देखिएको गहिरो भावनात्मक विखण्डनलाई सम्बोधन गर्न कांग्रेस सक्षम र आवश्यक शक्ति भएको बताए। आमाको काख रित्तिएको, राज्यका संरचना जलेको त्यो कठिन समयलाई आत्मसात् गर्दै उनले यो निर्वाचन दलगत जित–हारभन्दा माथि उठेर संकटमा देशलाई संयम, समन्वय र परिपक्वताका साथ हाँक्न सक्ने शक्तिको परीक्षण भएको स्पष्ट पारे।
२००७ सालदेखि २०७० सालसम्मका ऐतिहासिक मोडहरू स्मरण गराउँदै शर्माले कांग्रेसले सधैँ फरक विचार, शक्ति र समुदायबीच सेतुको भूमिका खेलेको दाबी गरे। “भाँचिएको मन जोड्ने र विषम परिस्थितिलाई सम्हाल्ने क्षमता बदलिएर आएको कांग्रेससँग मात्रै छ,” उनले भने।
पार्टीभित्रको सुधार र नेतृत्व नवीकरणबारे बोल्दै उपसभापति शर्माले अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी नहुने बताए। दुई पटकभन्दा बढी कोही पनि प्रधानमन्त्री हुन नपाउने नयाँ राजनीतिक थिति बसाल्ने प्रतिबद्धता जनाउँदै उनले नयाँ पुस्ताको नेतृत्वमार्फत देशलाई अघि बढाउनुपर्ने धारणा राखे। उनले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै कांग्रेसले अब सक्ने कुरा मात्र बोल्ने र गर्ने अठोट लिएको बताए।
उनले मतदातालाई गम्भीर भएर निर्णय गर्न आग्रह गर्दै २०६४ सालको अन्योल दोहोर्याउने कि २०७० सालजस्तै विवेक पुर्याएर देशलाई निकास दिने भन्ने फैसला अब जनताकै हातमा रहेको उल्लेख गरे।

सोही सभामा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले आगामी पाँच वर्षका लागि “५ पालिका, ५ वर्ष, ५५ काम” शीर्षकको विकास मार्गचित्र सार्वजनिक गरे। मादी जलाशय, विश्वविद्यालय स्थापना र डिजिटल तनहुँसहित पाँच मेगा प्रोजेक्ट समेटिएको उक्त योजना चुनावी घोषणा पत्र मात्र नभई बदलिएको नेपाली कांग्रेसको ठोस कार्ययोजना भएको शर्माले टिप्पणी गरे।
सभामा उपस्थित कांग्रेसका नेताहरूले विकासप्रेमी उम्मेदवारलाई जिताउन मतदातासमक्ष अपिल गरेका थिए।



























