प्रहार समाचार । तनहुँ, ५ फागुन २०८२ गलबार । दमौली बजार केवल तनहुँको व्यापारिक केन्द्र मात्र नभई नेपाली लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक आधारभूमिका रूपमा लिइन्छ । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–२ स्थित चुनावी प्रचारप्रसार कार्यालयको आज उद्घाटन गर्दै दमौलीको आधुनिक स्वरूप, राजनीतिक चेतना र लोकतान्त्रिक पहिचान नेपाली काँग्रेसकै नेतृत्वमा निर्माण भएको बताएका छन् ।

भट्टराईले २००७ सालपछिका हरेक ठूला राजनीतिक परिवर्तनमा दमौली अग्रपंक्तिमा रहेको स्मरण गराउँदै २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तनमा यहाँका नागरिकले खेलेको भूमिकाले दमौलीलाई राष्ट्रिय राजनीतिक नक्सामा स्थापित गरेको बताए। “दमौली बजारको गुरुयोजना, व्यवस्थित नक्सांकन र विकासको आधार काँग्रेसकै पालामा तय भयो,” उनले भने, “यो इतिहास कुनै नाराले होइन, काम र बलिदानले बनेको हो।”
उनले यस ऐतिहासिक विरासतलाई अझ उचाइमा पुर्याउँदै विकासको गतिलाई निरन्तरता दिन अबको निर्वाचन निर्णायक हुने उल्लेख गरे। जिल्लाको सदरमुकाम र वरपरका क्षेत्रको समग्र समृद्धिका लागि नेपाली काँग्रेससँग स्पष्ट योजना र कार्यदिशा रहेको भन्दै उनले लोकतन्त्र र विकासको पक्षमा उभिन मतदातालाई आग्रह गरे। “यसपटक सिंगो क्षेत्र नम्बर १ मा काँग्रेसको विजय सुनिश्चित गरेर विकास र स्थायित्वको बाटो खोल्नुपर्छ,” भट्टराईको जोड थियो।

कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले समयको आवश्यकता अनुसार नेपाली काँग्रेस परिमार्जित र सुदृढ भएर आएको बताए। उनले अबको निर्वाचनले पार्टीलाई २०४८ सालकै जस्तो बलियो, जनप्रिय र भरोसायोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने दाबी गरे। “काँग्रेस बदलिएर आएको छ, अब व्यवसायी र आम नागरिकको भरोसाको केन्द्र फेरि काँग्रेस नै बन्छ,” उनले भने।

वडा नम्बर २ का वडा सभापति टुकराज हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले तनहुँको समग्र विकास, लोकतन्त्रको रक्षा र राजनीतिक स्थायित्वका लागि यसपटक काँग्रेसको विकल्प नरहेको साझा धारणा व्यक्त गरेका थिए ।



























