हेडलाईनसमाचारप्रदेश

निर्वाचन आचारसंहिता तोडेको भन्दै सेतोपाटीमाथि कारबाहीको माग

प्रहार समाचार । काठमाडौँ, ४ फागुन २०८२ सोमबार । — निर्वाचन आयोगले अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’ विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ। आयोगले प्रकाशित दुई समाचार निर्वाचन आचारसंहिताविपरीत रहेको निष्कर्ष निकाल्दै आवश्यक कदम चाल्न काउन्सिललाई अनुरोध गरेको हो।

आइतबार ‘सेतोपाटी चुनाव विश्लेषण–१’ अन्तर्गत प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ शीर्षकको समाचार तथा सोमबार प्रकाशित ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको अर्को सामग्रीप्रति आयोगले आपत्ति जनाएको हो।

आयोगका अनुसार यी समाचारहरू निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (त) विपरीत देखिन्छन्, जसमा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा त्यसको परिणाम सार्वजनिक गर्न निषेध गरिएको छ। साथै, दफा २५ (१) (ख) अनुसार कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था रहेको आयोगले जनाएको छ।

कानुन अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित पत्रमा उल्लिखित प्रावधानहरूको प्रतिकूल कार्य भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग अनुरोध गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button