प्रहार समाचार । काठमाडौं, ४ फागुन २०८२ सोमबार । चुनाब नजिकिंदैजाँदा आम उपभोक्ताको दैनिकीसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थ फेरि महँगिएको छ। नेपाल आयल निगम ले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको छ। नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा १५५ रुपैयाँ कायम गरिएको छ। चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा तोकिएको छ।
त्यसैगरी मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतार–चढाव र खरिद लागतको आधारमा समायोजन गरिएको दाबी निगमको छ। तर मूल्य बढ्दा ढुवानी खर्च, दैनिक उपभोग्य वस्तुको मूल्य र सर्वसाधारणको जीवनयापन झन् महँगिने चिन्ता भने फेरि बढेको छ।



























