तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा तनहुँको । नं १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँलाई भावनात्मक मात्र नभई व्यवहारिक रूपमा पनि आफूले रोजेको जिल्ला भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति समेत रहेका वाग्लेले पत्रकार राजेन्द्र बानियासँगको अन्तरवार्तामा तनहुँका विषयवस्तु संसदमा निरन्तर उठाउँदै आएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा आफ्नो पार्टीको सरकार नभएकै कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको स्पष्ट पारे। “मैले तनहुँका मुद्दा पटक–पटक संसदमा उठाएँ, तर संरचनागत सीमाले काम गर्न कठिन भयो,” उनले भने।
तनहुँ बाहिरको व्यक्ति भनेर गरिएको प्रचारको खण्डन गर्दै वाग्लेले जिल्लामै घरजग्गा किनिसकेको र विकाससँग प्रत्यक्ष रूपमा जोडिन चाहेको बताए। हालसम्म १ सय १० पटक तनहुँ आइपुगेको जानकारी दिँदै उनले जिल्लाको भौगोलिक र सामाजिक संरचना चुनौतीपूर्ण रहेको उल्लेख गरे। “४२ वडा र करिब ६–७ सय बस्ती रहेको तनहुँका हरेक बस्तीमा एक रात बस्ने हो भने साढे दुई वर्ष लाग्छ,” उनले भने, “यही कारण जनतासँग निरन्तर सम्पर्क नै हाम्रो प्राथमिकता हो।”
कतिपय ठाउँमा कार्यक्रममै निषेध भोग्नुपरे पनि जनताको विश्वास जित्ने प्रयास नरोकिने वाग्लेको भनाइ छ। “हामी चौथो शक्तिमा सीमित हुँदैनौं, अब पहिलो दल बन्ने लक्ष्यसहित अघि बढेका छौं,” उनले भने। राष्ट्रिय तथा स्थानीय तहमा ‘घण्टी’ प्रतीकप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै उनले पार्टी भविष्यप्रति आशावादी रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी दिनमा देशकै पहिलो शक्ति बन्ने लक्ष्य लिएको उनको दाबी छ।



























