प्रहार समाचार । काठमाडौं, ३ फागुन २०८२ आइतबार । आज देशभर श्रद्धा र भक्ति साथ महाशिवरात्री पर्व मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि रहे पनि मध्यरातमा चतुर्दशी परेकाले आजकै दिन महाशिवरात्रि मनाउने निर्णय गरिएको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप प्रकट भएकाले यही रात पूजा, आराधना र दर्शन गरे सुख–शान्ति तथा सद्गतिको प्राप्ति हुने शास्त्रीय मान्यता रहेको बताए । तस्बिर : प्रहार अनलाईन मिडिया

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर व्रत, उपवास र पूजाअर्चना गरिरहेका छन् । दूध, धतुरो र बेलपत्र चढाई रातभर जाग्राम बस्ने परम्परा अनुसार भजनकीर्तन र धुनी बाल्ने चलन पनि व्यापक देखिएको छ । शिव पुराणलगायत ग्रन्थमा वर्णित कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये एक पवित्र पर्वका रूपमा लिइने यस दिन दीनदुःखीको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको विशेष आराधना गरिन्छ ।

यसैबीच, पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रि मेलाका लागि कडा सुरक्षा र सुव्यवस्थित लाइन व्यवस्थापन गरिएको छ । कोषका अनुसार बिहान २ बजेदेखि नै चारै ढोका खुला गरिएका छन् भने दर्शनार्थीका लागि तीनवटा बाह्य र भित्री लाइनको व्यवस्था गरिएको छ । सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि लगायत स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । पछिल्ला वर्षदेखि लागु गरिएको गाँजा, भाङ र धतुरोको निषेध यस वर्ष पनि कायम रहँदा नियम उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने जनाइएको छ । आज पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर, लमजुङको करापुटार , तनहुँको शिवपाञ्चायन मन्दिरलगायत तथा देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।



























