हेडलाईनव्याससमाचारगण्डकी

चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर तनहुँका उम्मेदवार भट्टराई र न्यौपानेको सौहार्दता

प्रहार समाचार । तनहुँ, २ फागुन २०८२ शनिबार । ।प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको बेला प्रतिस्पर्धी उम्मेदवारबीच देखिएको आत्मिय व्यवहारले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ। शनिबार व्यास नगरपालिका–११ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेबीच भएको भेटघाटले चुनावी माहोललाई केही सहज र सौहार्दपूर्ण बनाएको छ।

घरदैलो कार्यक्रम तथा स्थानीयसँगको भेटघाटका क्रममा संयोगवश आमनेसामने भएका दुवै उम्मेदवारले राजनीतिक औपचारिकता तोड्दै आत्मिय कुराकानी गरे। हात मिलाउँदै कुशलक्षेम साटासाट गरिएको उक्त भेटमा चुनाव, विकास र स्थानीय सरोकारका विषयमा छोटो संवाद भएको बताइएको छ। फरक दल र फरक विचार भए पनि एकअर्काप्रति सम्मान प्रकट गरिएको दृश्यले त्यहाँ उपस्थित स्थानीयको ध्यान खिच्यो।
स्थानीय बासिन्दाका अनुसार चुनावी प्रतिस्पर्धा चर्कँदै जाँदा यस्ता दृश्य कमै देखिन्छन्। “जित–हार त चुनावको स्वाभाविक प्रक्रिया हो, तर उम्मेदवारबीचको सभ्य व्यवहारले समाजमा राम्रो सन्देश जान्छ,” एक स्थानीयले भने। उनका अनुसार यस्ता भेटले कार्यकर्ता र मतदातालाई पनि शान्त र मर्यादित ढंगले चुनावमा सहभागी हुन प्रेरित गर्छ ।


उम्मेदवारहरूबीचको भेटलाई लिएर स्थानीयले यसलाई लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा व्याख्या गरेका छन्। राजनीतिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध र सामाजिक सद्भाव कायम राख्न सकिने सन्देश यसले दिएको उनीहरूको भनाइ छ। विशेष गरी युवापुस्ताले यस्ता व्यवहारबाट राजनीति केवल आरोप–प्रत्यारोप र द्वन्द्व मात्र होइन भन्ने कुरा बुझ्ने अपेक्षा गरिएको छ।


व्यास नगरपालिका–११ मा देखिएको यो आत्मिय क्षणले चुनावी प्रतिस्पर्धालाई शालीन, शान्त र मर्यादित बनाउने दिशामा सानो तर अर्थपूर्ण संकेत दिएको छ। अन्ततः जनताको विश्वास जित्ने आधार नीतिगत स्पष्टता र व्यवहारिक सभ्यता नै हो भन्ने सन्देशसहित उक्त भेटलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button