हेडलाईनव्याससमाचारगण्डकी

प्रेम दिवसमा तनहुँ बाजबजार युवा क्लबको अर्थपूर्ण पहल

प्रहार समाचार । तनहुँ, २ फागुन २०८२ शनिबार । प्रेम दिवसलाई औपचारिक शुभकामनामा सीमित नराख्दै तनहुँको दमौलीमा रहेको बाजबजार युवा क्लबले समाजका लागि उदाहरणीय काम गरेको छ। क्लबका अध्यक्ष तथा अभियन्ता महम्मद गफ्फार (सुदिप)को नेतृत्वमा व्यास–७ स्थित व्यास नगर समता विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कापी, कलम, स्टेशनरी सामग्रीका साथै खेलकुद सामग्री प्रदान गरिएको थियो। आर्थिक तथा भौतिक अभावका कारण पढाइ र खेलकुदमा समान पहुँच नपाइरहेका विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। अध्यक्ष गफ्फारले प्रेम दिवसको सन्दर्भमा बोल्दै भने, “प्रेम दिवस भनेको केवल प्रतीकात्मक उत्सव होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर पनि हो। बालबालिकाको शिक्षामा सानो योगदान गर्न पाउनु नै हाम्रो लागि ठूलो सन्तुष्टि हो।”

विद्यालय प्रशासनले क्लबको यो पहलले विद्यार्थीको मनोबल उच्च भएको बताएको छ। अभिभावकहरूले पनि यस्ता सामाजिक कार्यले बालबालिकामा पढाइप्रति रुचि बढ्ने र अनुशासन तथा आत्मविश्वास विकास हुने प्रतिक्रिया दिएका छन्।
स्थानीयस्तरमै सक्रिय बाजबजार युवा क्लबले यसअघि पनि सामाजिक तथा शैक्षिक गतिविधिमा योगदान गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रेम दिवसको अवसरमा देखिएको यो व्यवहारिक प्रेमले समाजमा सकारात्मक सन्देश फैलाएको स्थानीयको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button