प्रहार संवाददाता । लमजुङ, २ फागुन २०८२ शनिबार । शिक्षक पेशागत हकहित र सामाजिक जिम्मेवारीको सवालमा एकताबद्ध आवाज अपरिहार्य रहेको निष्कर्षसहित नेपाल शिक्षक संघ बेसीशहरको आठौं स्थानीय प्रतिनिधि सभा शुक्रबार बेसीशहरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारीले शिक्षकहरूको हकहित सुरक्षित गर्ने सबैभन्दा बलियो आधार एकता भएको स्पष्ट पारे। “एकताबद्ध र संगठित संस्था हुँदा मात्र बार्गेनिङ क्षमता बढ्छ,” उनले भने, “त्यसैले व्यक्तिगत होइन, सामूहिक रूपमा अघि बढ्नैपर्छ।”

कार्यक्रममा सभामा सहभागीहरूले शिक्षण पेशामा देखिएका चुनौती, नीति–निर्णयमा शिक्षकको भूमिका र समाजप्रति उत्तरदायित्वबारे ठेट ढंगले धारणा राखे। देशका हरेक परिवर्तनमा शिक्षकको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनीहरूले कुन्ठा र नैराश्यतालाई चिर्दै ज्ञान–विवेकको प्रयोग गर्नुपर्नेमा जोड दिए।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै योग्य व्यक्ति छनोटका लागि समाजलाई दिशाबोध गर्ने जिम्मेवारी शिक्षककै काँधमा रहेको सन्देश पनि सभाबाट प्रवाह गरियो।

सभामा शैक्षिक सत्र २०८१ मा ८८.८८ प्रतिशत उत्कृष्ट नतिजा हासिल गरेको बेसीशहर–११ स्थित लोकराज आदर्श माध्यमिक विद्यालयलाई सम्मानपत्र प्रदान गरियो। यसैगरी पूर्व प्रशिक्षक ई. दिपेन्द्र रावल तथा पूर्व शिक्षक/प्रधानाध्यापक गमबहादुर गुरुङलाई कदरपत्रमार्फत सम्मान गरिएको थियो भने नवप्रवेशी शिक्षकहरूलाई स्वागतसहित सम्मानपत्र प्रदान गरियो।
कार्यक्रमको सहजिकरण नगर सचिव विजय अधिकारीले गरेका थिए। अर्थ सचिव सूर्यकान्त खनालले आर्थिक प्रतिवेदन र अध्यक्ष घिमिरेले सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरे।

स्थानीय कार्यसमिति बेसीशहरका अध्यक्ष एकदेव घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक एकता, संगठन मजबुती र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित सभा सम्पन्न भएको वडा नं. ७ की संयोजक लीलावति न्यौपाने बरालले जानकारी दिइन् ।
























