प्रहार समाचार । ढाका, २ फागुन २०८२ शनिबार । । १७ वर्ष लामो निर्वासन, जेल जीवन, भ्रष्टाचारका मुद्दा र आमाको राजनीतिक छायाँ पार गर्दै तारिक रहमान अन्ततः बंगलादेशको सत्ताको केन्द्रमा पुगेका छन्। संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुईतिहाइ बहुमतसहित निर्णायक जित हासिल गरेसँगै तारिक प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

बिएनपीले २९ माघमा सम्पन्न निर्वाचनपछि सरकार गठनको औपचारिक तयारी थालेको छ। पार्टी अध्यक्ष रहमानले अर्को साता प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको बिएनपी स्रोतले जनाएको छ। यो जितलाई केवल सत्ता परिवर्तनको रूपमा नभई ‘निर्वासनको राजनीति’ बाट ‘सत्ताको राजनीति’ मा फर्किएको एउटा ऐतिहासिक मोडका रूपमा हेरिएको छ।
तारिक, बंगलादेशी राजनीतिका पुराना अनुहार जियाउर रहमान का जेठा छोरा हुन्। जियाउर रहमानले सन् १९७८ मा बिएनपी स्थापना गरेका थिए। उनकी आमा वेगम खालिदा जिया दुईपटक प्रधानमन्त्री भइन्। यही राजनीतिक विरासतले तारिकलाई सत्ताको नजिक पुर्यायो, तर त्यही विरासतले उनलाई विवाद र आरोपको केन्द्रमा पनि राख्यो।
२००७ मा सैन्य समर्थित कामचलाउ सरकारका बेला भ्रष्टाचार आरोपमा पक्राउ परेका तारिक १८ महिना जेल बसे। उनले अनुसन्धानका क्रममा यातना दिएको दाबी गर्दै आएका छन्। त्यसपछि उनी बेलायत निर्वासनमा रहे। अदालतबाट आमा खालिदा जियालाई भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि सन् २०१८ देखि तारिक बिएनपीको कार्यवाहक अध्यक्ष बने।
१७ वर्षपछि, २५ डिसेम्बर २०२५ मा स्वदेश फर्किएका तारिकले पाँच दिनमै आमालाई गुमाए। आमाको निधनसँगै उनी पार्टी अध्यक्ष बने र छोटो समयमै बिएनपीलाई ऐतिहासिक बहुमत दिलाउन सफल भए। राजनीतिक विश्लेषकहरूका अनुसार, तारिकको जित केवल व्यक्तिगत पुनरागमन होइन, यो बंगलादेशी राजनीतिमा लामो समयदेखि चलेको सत्ता संघर्षको नयाँ अध्याय हो। सत्ता ढलेको दिन पूर्वप्रधानमन्त्री खालिदा जिया रिहा हुनु र त्यसपछि बिएनपीको चुनावी जितलाई ‘राजनीतिक चक्र पूरा भएको संकेत’ का रूपमा लिइएको छ ।
६० वर्षीय तारिक रहमान अब यस्तो बंगलादेशको नेतृत्व सम्हाल्दै छन्, जहाँ लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार सबैभन्दा ठूलो चुनौती बनेका छन्। निर्वासनबाट फर्किएका नेताले अब सत्ता सञ्चालनमा कस्तो बाटो रोज्छन् भन्ने प्रश्नसँगै बंगलादेशको राजनीतिक भविष्य जोडिएको छ ।
























