प्रहार समाचार । काठमाडौँ, १ फागुन २०८२ शुक्रबार । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण वातावरणमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज साँझ भएको उच्चस्तरीय भेटघाटमा राष्ट्रपति पौडेलले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसमा जनताको विश्वास टुट्न नदिन राज्य संयन्त्र जिम्मेवार हुनुपर्ने बताए। आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने विश्वाससमेत उनले व्यक्त गरे।
भेटघाटमा राष्ट्रपति पौडेलले “लोकतन्त्रमा जनताको अभिमत बुझ्ने प्रमुख माध्यम निर्वाचन हो। देशको वर्तमान अवस्थालाई निकास दिन निर्वाचन निर्णायक हुन्छ, त्यसैले भयरहित वातावरण बनाउन सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन,” भन्ने धारणा राखेको जानकारी उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिएका छन्।
सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल सहित चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले निर्वाचन सुरक्षाबारे आ–आफ्नो तयारी र दृष्टिकोण राखेका थिए। राष्ट्रपतिको निर्देशनलाई आगामी निर्वाचन सुरक्षाको ‘रोडम्याप’ का रूपमा हेरिएको छ ।
























