हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको अमरापुरी–पुल्चोकटोलमा वर्षौंदेखिको समस्या समाधानतर्फ : नाला र ढलानसहित सडक निर्माण सुरु

प्रहार समाचार । तनहुँ, १ फागुन २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिका–२ अन्तर्गत अमरापुरी पुल्चोकटोलमा ढल निकासको अभाव र कच्ची सडकका कारण वर्षायाममा हिँडडुल नै कठिन हुने समस्या अन्ततः समाधानतर्फ अघि बढेको छ। टोल क्षेत्रको पहिचान गर्दै स्थलगत निरीक्षणपछि स्थानीयको मागलाई सम्बोधन गरी पक्की नाला तथा ढलानसहितको सडक निर्माण कार्य सुरु गरिएको हो।


टोलमा रहेका २२ देखि २४ घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी करिब १६ फिट चौडाइ र ९९.५ मिटर लम्बाइको सडक ढलानसँगै नाला निर्माण गरिँदैछ। यसका लागि चालु आर्थिक वर्ष २०८२/०८३ को वडागत बजेटबाट ९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ। लागत सहभागिता समेत जोड्दा कुल ११ लाख ८९ हजार ३१४ रुपैयाँ ७० पैसा बराबरको योजना सञ्चालनमा आएको वडा सदस्य सुरेश वाग्ले जानकारी दिए।
उनका अनुसार, लामो समयदेखि उपेक्षित बस्तीको आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको हो र काम छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, वडा अध्यक्ष काशिराम श्रेष्ठले टोलबासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्नु वडाको दायित्व भएको उल्लेख गर्दै भने, “ढल र सडक अभावका कारण नागरिकले भोग्दै आएको सास्ती अन्त्य गर्न यो योजना महत्वपूर्ण छ। गुणस्तरीय र दिगो संरचना निर्माणमा हामी प्रतिबद्ध छौं।”
स्थानीयवासीहरूले समेत वडाको पहललाई सकारात्मक रूपमा लिँदै वर्षौंदेखिको समस्या समाधान हुने आशा व्यक्त गरेका छन्। विकासका आधारभूत आवश्यकता पूरा हुँदै जाँदा अमरापुरि पुल्चोकटोलको बसोबास र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button