प्रहार समाचार । तनहुँ, १ फागुन २०८२ शुक्रबार । तनहुँको दमौलीमा युवा व्यवसायी बिरू वस्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर सदस्य छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गगन थापा नेपाली कांग्रेसको नव निर्वाचित सभापति भएपछि वस्याल कांग्रेसमा प्रवेश गरेका हुन् । उनको प्रदेशसङ्गै जिल्लाको राजनीतिक माहोल तातेको छ। लामो समयदेखि लोकतान्त्रिक विचारप्रति झुकाव राख्दै आएका वस्यालले विशेष महाधिवेशनबाट थापा सभापतिमा आएपछि कांग्रेसभित्र नयाँ सम्भावना देखेको बताएका छन्।

“देश र समाजको भविष्य नेपाली कांग्रेसमार्फत मात्र पूरा हुन्छ,” बस्यालले भने । उनले पार्टी परिवर्तनलाई सिद्धान्तसँग जोडिएको कदमको रूपमा व्याख्या गरे। उनीलाई पार्टीमा स्वागत गर्दै कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता मोहन कुमार श्रेष्ठले युवाको आगमनले संगठनलाई ऊर्जा थप्ने दाबी गरे। श्रेष्ठले वस्याललाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउँदै तनहुँमा कांग्रेसको आधार बलियो बनाउने संकेत गरे। कार्यक्रममै उद्योग वाणिज्य क्षेत्रका अगुवाहरूले पनि वस्यालको निर्णयलाई सकारात्मक राजनीतिक सन्देशका रूपमा लिएका छन् ।
दमौलीमा स्थापित व्यवसायीको छवि बनाएका वस्याल अब व्यवसायसँगै प्रत्यक्ष राजनीतिक भूमिकामा देखिने भएका छन्। उनको प्रवेशलाई कांग्रेसले तनहुँमा ‘युवा कार्ड’ का रूपमा उपयोग गर्ने आँकलन गरिएको छ। नजिकिंदै गरेको चुनाव र पछिल्लो समय युवा पुस्ता राजनीतिक रूपमा पुनः सक्रिय बन्दै गएको सन्दर्भमा वस्यालको कदमले जिल्लामा नयाँ समीकरणको बहस सुरु गराएको छ।
























