प्रहार समाचार । दोलखा, २९ माघ २०८२ बिहीबार । बाँदरले आफूले लगाएको अन्नबाली खाएर हैरानी दिएपछि दोलखाका किसानहरुले विकास निर्माण गर्ने लाई नभई बाँदर धपाउने दललाई भोट दिने भएका छन्।

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरू चर्का विकासे भाषण र आकर्षक घोषणापत्र बनाउन व्यस्त छन् तर दोलखाको तामाकोशी नदी किनार क्षेत्रका किसानले भने स्पष्ट सन्देश दिएका छन्– “पहिले बाँदर धपाऊ, अनि मात्रै भोट पाऊ।” बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको तल्लो भेगमा बाँदर आतङ्कका कारण खेतीपाती नै उठीवास लाग्ने अवस्था पुगेपछि स्थानीयले यसपालि चुनावी एजेन्डा नै फेरिदिएका हुन् । बाली जोगाउन नसक्ने अवस्थामा पुगेका किसानले बाँदर समस्या समाधानको ठोस प्रतिबद्धता नगर्ने दललाई मत नदिने एकमत गरेका छन् ।
भीमेश्वर–४ की चन्द्रकुमारी बुढाथोकी भन्छिन्, “थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरले सखाप पार्छ । भोकै बस्नुपर्ने अवस्था छ ।” मेलुङ–७ का पूर्वसैनिक कर्ण खड्का पनि १७ वर्षे सेवा पछि गाउँ फर्केर गरेको खेती बाँदरले नष्ट पारेपछि निराश छन् । उनका अनुसार वडा नम्बर ७ का २२ वटै टोलका किसान एउटै समस्याले पिरोलिएका छन् । कालिञ्चोकमा त किसान विस्थापित हुने अवस्था आएपछि बाँदर धपाउने मेसिनसमेत बाँडिएको थियो, तर त्यो पनि प्रभावहीन बनेको स्थानीयको गुनासो छ । “पहिला आवाज सुन्दा भाग्थ्यो, अहिले त झन् चलाख भए,” पीडितहरू बताउँछन् ।
खेतबाट धपाए घरभित्र पसेर पाकेको भातसम्म लाने बाँदरका कारण किसान दिनहुँ गोठालो लाग्न बाध्य छन् । मकै मात्र होइन, आलु, केराउ, प्याज, लसुनसमेत बाँकी नराख्ने अवस्था छ । स्थानीय सरकार बनेको साढे तीन वर्ष बित्दा पनि समस्या जस्ताको तस्तै रहेपछि अब प्रतिनिधि सभा चुनावलाई दबाबको माध्यम बनाउने तयारी गरिएको छ । “जसले बाँदर हटाउने विश्वास दिलाउँछ, उसैलाई भोट,” पीडित उमेश घतानी र कृष्णकुमारी लामिछानेको एकै स्वर छ । दोलखामा यसपालि चुनावी बहस विकासका ठूला सपना होइन, बाँदर नियन्त्रणमै केन्द्रित हुने देखिएको छ ।



























