प्रहार समाचार । तनहुँ, २८ माघ २०८२ बुधबार । तनहुँको व्यास नगरपालिका–३, सफासडक प्रशासन चोक नजिक दमौलीमा ‘ऐश्वर्य व्युटि स्टोर’ सञ्चालनमा आएको छ। शिक्षण पेशासँगै उद्यमशील यात्रामा अघि बढ्दै उप–प्राध्यापक कञ्चना काफ्लेले करिब ३५ लाख रुपैयाँभन्दा बढी लगानीमा उक्त स्टोर सुरु गरेकी हुन्। उक्त स्टोर आजबाट औपचारिक रूपमा सुरुवात गरिएको हो ।

अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेकी काफ्ले आदिकवि भानुभक्त क्याम्पस, व्यास–१ भादगाउँमा उप–प्राध्यापकका रूपमा कार्यरत छन्। दमौली बजारको मुख्य क्षेत्रमै सञ्चालनमा आएको स्टोरमा इमिटेशन ज्वेलरी, विभिन्न ब्रान्डका कस्मेटिक सामग्री तथा गुणस्तरीय स्किन केयर प्रडक्ट उपलब्ध छन्। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर गुणस्तरीय सामग्री भित्र्याइएको सञ्चालक काफ्लेको भनाइ छ।

“नेपालमै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेकी हुँ,” काफ्लेले भनिन्, “महिला आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्। खाली समयको सदुपयोग गर्दै आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु।”

स्टोर सञ्चालनसँगै दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। आगामी दिनमा व्यवसाय विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन्। काफ्लेले आफ्ना सयौं विद्यार्थीहरूलाई पनि उद्यमशील बन्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरिन्। “रोजगारी खोज्ने मात्रै होइन, सिर्जना गर्ने सोच विकास गर्नुपर्छ,” उनले भनिन्।

शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिले आफ्नै ठाउँमा लगानी गर्दै व्यवसाय सुरु गर्नुले दमौलीमा महिला उद्यमशीलताको सकारात्मक सन्देश दिएको छ। स्थानीयस्तरमै अवसर खोज्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरणका रूपमा ‘ऐश्वर्य व्युटि स्टोर’ स्थापित हुने विश्वास गरिएको छ ।




























