प्रहार समाचार । तनहुँ, २८ माघ २०८२ बुधबार । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तनहुँमा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले यस वर्ष २ हजार ६ सय २५ जना किशोरीलाई खोप लगाउने तयारी गरेको जनाएको छ ।

जिल्लाभरका १ सय ७१ वटा खोप केन्द्रमार्फत अभियान सञ्चालन गरिनेछ । अभियान सफल बनाउन ३ सय ५ जना जनशक्ति परिचालन गरिने कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिए । उनका अनुसार १ सय ४९ जना स्वास्थ्यकर्मी र १ सय ५६ जना स्वयंसेवक खटिनेछन् ।

यो खोप विशेषगरी विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ । त्यस्तै गत आर्थिक वर्षमा खोप छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइनेछ ।
जिल्लाका १० पालिकामध्ये पहिलो चरणमा ४ र दोस्रो चरणमा ६ पालिकामा अभियान सञ्चालन गरिनेछ । व्यास र भिमाद नगरपालिका, बन्दिपुर र देवघाट गाउँपालिकामा माघ २९ र फागुन १ गते खोप लगाइनेछ । त्यसपछि भानु, शुक्लागण्डकी नगरपालिका तथा रिसिङ्ग, म्याग्दे, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा फागुन ४ र ५ गते खोप कार्यक्रम तय गरिएको छ ।

कार्यालय प्रमुख दवाडीका अनुसार खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सर र यसको रोकथामका उपायबारे अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार हरेक वर्ष विश्वभर ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने ३ लाख ११ हजारको मृत्यु हुने गरेको छ । सन् २०३० सम्म यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
नेपालमै पनि हरेक वर्ष २ हजार १ सय ६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १ हजार ३ सय १३ जनाको मृत्यु हुने तथ्यांक छ । औसतमा दैनिक ४ जना महिलाको ज्यान जाने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण भएकाले नेपाल सरकारले एचपीभी खोप निःशुल्क रूपमा नियमित कार्यक्रममार्फत सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।

तनहुँमा सुरु हुन लागेको यो अभियानलाई भविष्यमा महिलाको ज्यान जोगाउने दीर्घकालीन लगानीका रूपमा हेरिएको छ । स्वास्थ्यकर्मीहरूले अभिभावकलाई ढुक्क भई आफ्ना छोरीलाई खोप लगाउन आग्रह गरेका छन् ।



























