प्रहार समाचार । तनहुँ, २७ माघ २०८२ मङ्गलबार । प्रविधिको दुनियाँमा अब शहर मात्र होइन, गाउँ पनि अगाडि बढ्दैछ भन्ने प्रमाण बनेका छन् तनहुँको व्यास नगरपालिका–१, भादगाउँका दीपेश पन्थ। कक्षा ९ मा अध्ययनरत निर्मल माध्यमिक विद्यालयका विद्यार्थी पन्थले माघ २६ गते सम्पन्न राष्ट्रिय स्तरको रोबोटिक, कोडिङ तथा एआई प्रतियोगिता CODEAVOUR 7.0 मा टेक्निकल इनोभेसन (सिङ्गल क्याटेगोरी) तर्फ प्रथम स्थान हात पार्दै इतिहास रचेका छन् ।

देशभरबाट प्रस्तुत करिब १६० प्रोजेक्टलाई पछि पार्दै दीपेशद्वारा तयार गरिएको ‘स्मार्ट स्कुल’ प्रोजेक्टले निर्णायक मात्र होइन, प्रविधिप्रेमीहरूका मन पनि जित्न सफल भयो। विद्यालय व्यवस्थापनदेखि विद्यार्थी सिकाइसम्म प्रविधिको प्रयोगमार्फत सहज र प्रभावकारी बनाउने अवधारणाले दीपेशको प्रोजेक्टलाई फरक र प्रभावशाली बनाएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै दीपेश पन्थले नयाँ इनोभेसन अवार्ड समेत प्राप्त गरेका छन्। यो सफलताले उनलाई आगामी वर्ष हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि समेत छनोट गराएको छ, जसले नेपाली विद्यार्थीको क्षमता विश्वसामु प्रस्तुत हुने बाटो खोलेको छ।

साधारण परिवेशमा अध्ययन गर्दै असाधारण सोच र मेहनतबाट यस्तो उपलब्धि हासिल गर्नु आफैंमा प्रेरणाको विषय बनेको विद्यालयले जनाएको छ। विद्यालय परिवारले पन्थलाई बधाई दिँदै उनको सफलताले विद्यालय र जिल्लाको नाम उजागर गरेको उल्लेख गरेको छ। सानो उमेरमै ठूलो सोच बोकेका पन्थको यो सफलताले ‘स्मार्ट स्कुल’ले देखाएको बाटोले अब गाउँका विद्यालयहरू पनि स्मार्ट बन्न सक्छन् भन्ने आशा जगाएको छ।


























