हेडलाईनसमाचारगण्डकी

लमजुङको बेसीशहर नगरका शिक्षकलाई अब मासिक रूपमा नै तलब

प्रहार समाचार । लमजुङ, २६ माघ २०८२ सोमबार । लामो समयदेखि त्रैमासिक तलब पाउने बाध्यतामा रहेका शिक्षकहरूका लागि बेसीशहर नगरपालिकाले राहतको कदम चालेको छ। नगरपालिकाले यसै महिनादेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराउन सुरु गरेको छ।


बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले अब तीन महिनाको पर्खाइ गर्नु नपर्ने भएको छ। शाखा प्रमुख सिर्जना चिलुवाल पाण्डेले शिक्षकको आर्थिक असहजताले शिक्षण-सिकाइमा असर पर्ने देखिएपछि मासिक तलब प्रणाली लागू गरिएको जानकारी दिइन्। ‘घरभाडा, खानपिन, उपचार, छोराछोरीको पढाइ जस्ता खर्च मासिक हुन्छन्, तर तलब तीन महिनामा दिँदा शिक्षकहरू आर्थिक संकटमा पर्थे,’ उनले भनिन् । ‘अब शिक्षक निश्चिन्त भएर पढाउन सक्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो।’


नगरपालिकाका कार्यकारी प्रमुख सुमन अधिकारीले आर्थिक असुरक्षाले शिक्षकको मनोबल घटाउने मात्र होइन, त्यसले शिक्षा प्रणालीमै असर पार्ने बताए। ‘समयमै तलब पाउँदा ऋणको भर घट्छ, पेशाप्रतिको आकर्षण बढ्छ र अन्ततः विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन्,’ अधिकारीको भनाइ छ।

शिक्षकहरू पनि नगरपालिकाको निर्णयबाट उत्साहित देखिएका छन्। उनीहरूका अनुसार मासिक खर्च भइरहँदा तलब ढिलो हुँदा जीवनयापन कठिन बन्दै आएको थियो। बेसीशहर नगरपालिकामा हाल ४ सय १६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। नगरपालिकाले मासिक करिब २ करोड रुपैयाँ बराबरको तलबभत्ता निकासा गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। शिक्षक केन्द्रित यो निर्णयलाई स्थानीय तहमा शिक्षा सुधारतर्फको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button