प्रहार समाचार । काठमाडौँ, २६ माघ २०८२ सोमबार । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपेटिका लगायतका निर्वाचन सामग्री ढुवानीको काम सुरु गरेको जनाएको छ।

निर्वाचन आयोगका अनुसार केन्द्रबाट नौ प्रकारका मुख्य निर्वाचन सामग्री जिल्लातर्फ पठाइँदै छन्। ती सामग्रीमा मतपेटिका, मतपत्र छाप्न प्रयोग हुने सामग्री, सिल, स्टिकर लगायतका अत्यावश्यक सामान समावेश छन्। आयोगले ढुवानी प्रक्रिया समयमै सम्पन्न गरी निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ।
यस्तै, ३७ प्रकारका अन्य निर्वाचन सामग्री भने जिल्लास्तरमै व्यवस्थापन गरिने आयोगले स्पष्ट पारेको छ। यसबाट स्थानीय तहलाई सक्रिय बनाउँदै खर्च तथा समयको बचत हुने आयोगको विश्वास छ।
आयोगका अधिकारीहरूका अनुसार सामग्री ढुवानी कार्य सुरक्षाको उच्च सतर्कतासहित भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार सबै सामग्री समयमै सम्बन्धित जिल्लामा पुर्याइने र त्यसपछि मतदान केन्द्रसम्म वितरण गरिने योजना छ।
निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सबै सरोकारवालासँग सहकार्य भइरहेको जनाएको छ। तयारीको यो चरणले फागुन २१ को निर्वाचन निर्धारित समयमै र सफलतापूर्वक सम्पन्न हुने संकेत दिएको छ।

























