प्रहार समाचार । तनहुँ, २१ माघ २०८२ बुधबार । तनहुँको पत्रकारिता क्षेत्रका एक अनुभवी, अग्रज पत्रकार शेष मोहम्मद हनिफ (गोरा) मियाँको निधन भएको छ। नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार रहेका मियाँको आज साँझ आफ्नै निवासमा निधन भएको हो।

मंगलबार दिउँसो घरमै अचेत अवस्थामा ढलेपछि उनलाई तत्काल रत्नहरि अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको भए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि बुधबार दिउँसो घर फर्काइएको थियो। साँझ पुनः स्वास्थ्यमा समस्या आएपछि उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका स्व. मियाँ प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेशागत हकहित र सामाजिक उत्तरदायित्वका विषयमा सधैं स्पष्ट र दृढ धारणा राख्ने पत्रकारका रूपमा परिचित थिए । उनको योगदानले तनहुँको पत्रकारिता आन्दोलनलाई संस्थागत र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले बताए । प
मियाँको निधनले तनहुँको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघ तनहुँले जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै स्व. मियाँलाई जुझारु, निडर र समर्पित पत्रकारका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
स्व. मियाँप्रति विभिन्न पत्रकार संघ–संस्था, राजनीतिक दल तथा सामाजिक व्यक्तित्वहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।



























