प्रहार समाचार । तनहुँ, २१ माघ २०८२ बुधबार । तनहुँको ऋषिङ गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको हिंजो ऋषिङ गाउँपालिका–३ दाङश्रीस्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो।

मधुवन–कालिगण्डकी किनारबाट बालुवा लोड गरी काफलडाँडातर्फ जाँदै गरेको ग.१त ६२९४ नम्बरको ट्र्याक्टरबाट सोही ठाउँ बस्ने करिब २३ वर्षका पूर्ण बहादुर थापा अचानक खस्दा गम्भीर घाइते भएका थिए। ट्र्याक्टरबाट खस्दा थापाको टाउको, छाती र खुट्टामा गम्भीर चोट दलागेको थियो। घाइतेको अवस्था नाजुक भएपछि उपचारका लागि एम्बुलेन्समार्फत दमौली ल्याइएको थियो। तर रत्नहरी अस्पताल दमौलीमा उपचारका क्रममा राति ९ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गर्न राति ११ बजे प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले बताए।
भित्री सडकमा सुरक्षा मापदण्ड बेवास्ता गरी बालुवा ढुवानी गर्दा यस्ता दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ।



























