हेडलाईनसमाचारप्रदेश

हिमाली भेगको निर्वाचन चुनौती: मुस्ताङमा मौसमले परीक्षा लिँदै

प्रहार समाचार । २१ माघ २०८२ बुधबार । मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै तयारी अघि बढाइए पनि हिमपात प्रमुख चुनौतीका रूपमा देखिएको छ। जिल्लाभर ३९ वटा मतदान केन्द्र कायम गरिएको छ भने पाँचै स्थानीय तहका मतदानस्थल सुरक्षा दृष्टिले सामान्य अवस्थामा छन्। तर, हिमाली जिल्ला भएकाले मौसम प्रतिकूल बने मतदान प्रक्रियामा असर पर्न सक्ने सरोकारवालाको आकलन छ।

 

विशेषगरी वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा एक महिनादेखि बाक्लो हिउँ जमेका कारण यातायात अवरुद्ध छ। विगतमा फागुन र चैत महिनामा समेत हिमपात भएका उदाहरण रहेकाले यसपटक पनि मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई आवतजावतमा कठिनाइ हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन्। त्यसलाई मध्यनजर गर्दै मतदानअघिका दिनमा डोजर प्रयोग गरी सडक खुलाउने तयारी गरिएको छ।


मतदाताको सहजताका लागि यसपटक केही मतदानस्थलमा पुनःसंरचना गरिएको छ। लोमान्थाङ गाउँपालिका–२ को समजुङ मतदानस्थललाई छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा गाभिएको छ भने लोघेकर दामोदरकुण्ड–ताङ्ग्यामा थप एक मतदानस्थल थपिएको छ। स्थानीय तहअनुसार थासाङमा ८, घरपझोङमा ६, लोघेकर दामोदरकुण्डमा १०, वारागुङ मुक्तिक्षेत्रमा ९ र लोमान्थाङमा ६ मतदान केन्द्र कायम छन्।
जिल्लामा कुल ११ हजार ३२८ मतदाता रहेका छन्। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ भने विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन्। प्रजिअ शर्माका अनुसार सबै मतदान केन्द्रमा सडक पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध छ। मौसम अनुकूल रहेमा मुस्ताङमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button