प्रहार समाचार । काठमाडौँ, २१ माघ २०८२ बुधबार । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको सूचीले दलहरूको उम्मेदवार छनोटदेखि लैंगिक सहभागितासम्मको तस्वीर स्पष्ट पारेको छ ।

अन्तिम बन्दसूचीअनुसार ६३ वटा राजनीतिक दलबाट ५७ वटा निर्वाचन चिह्न कायम भएका छन् । ती दलहरूले समानुपातिकतर्फ कुल ३ हजार १३५ जना उम्मेदवार अघि सारेका छन् । सूचीमा महिला उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ । आयोगका अनुसार कुल उम्मेदवारमध्ये १ हजार ७७२ जना महिला छन् भने १ हजार ३६३ जना पुरुष रहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रकाशित बन्दसूची अन्तिम भएको जनाउँदै अब यसमा कुनै हेरफेर नहुने स्पष्ट पारिएको छ । समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पाएको मतका आधारमा यही सूचीबाट प्रतिनिधिसभा सदस्य चयन हुनेछन् ।
समानुपातिक बन्दसूचीमा महिलाको संख्या पुरुषभन्दा बढी देखिनु संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तसँग मेल खाने संकेतका रूपमा हेरिएको छ । यद्यपि सूचीको माथिल्लो क्रममा को परे, कसलाई अवसर मिल्ला भन्ने प्रश्न भने दलहरूले पाएको मत परिणामपछि मात्रै छर्लङ्ग हुने छ ।
अब निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू समानुपातिक मत तान्न प्रचार–प्रसारमा झनै सक्रिय हुने देखिन्छ । आयोगले भने निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन तयारी तीव्र पारेको जनाएको छ ।
























