हेडलाईनसमाचारप्रवास

लुम्बिनीदेखि सराङ्कोटसम्म जोडिएको नेपाल–जापानको मित्रता

प्रहार समाचार । जापान, टोकियो ।२० माघ २०८२ मङ्गलबार ।नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइरहँदा राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच टोकियोस्थित इम्पेरियल प्यालेसमा न्यानो र अर्थपूर्ण भेटघाट भएको छ। औपचारिकभन्दा बढी आत्मीय देखिएको भेटमा दुई देशबीचको पुरानो मित्रता, सहयोग र भावनात्मक सम्बन्ध झल्किएको थियो ।


चारदिने जापान भ्रमणमा रहेका राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्राट नारुहितोसँग शीष्टाचार भेटका लागि इम्पेरियल प्यालेस पुगेका हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको विकास यात्रामा जापानको साथ ‘भरपर्दो र विश्वासिलो’ रहेको भन्दै खुलेर प्रशंसा गरे।


“मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरणदेखि संस्कृति संरक्षणसम्म जापानको सहयोगले नेपाल र नेपालीले प्रत्यक्ष फाइदा लिएका छन्,” राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले नेपाल र जापान दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको उल्लेख गर्दै बुद्ध जन्मस्थल लुम्बिनीले दुई देशका जनतालाई जोड्ने बलियो पुलको काम गरेको बताए। उनले ७० वर्ष पुगेको कूटनीतिक सम्बन्धलाई ‘दुई देशबीचको मित्रताको कोशेढुङ्गा’को संज्ञा दिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले नेपाल भ्रमण गर्दा काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनी पुगेको स्मरण गराए। साथै, सन् २०२० मा आफूलाई ‘ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सन’ बाट विभूषित गरिएकोमा जापान सरकार र सम्राटप्रति आभार व्यक्त गरे। राष्ट्रपति पौडेलले सम्राट र साम्राज्ञीलाई उपयुक्त समयमा नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि गरे। उता, सम्राट नारुहितोले नेपाल–जापान सम्बन्धको ७० औँ वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए। उनले सन् १९८६ मा गरेको नेपाल भ्रमण अझै स्मृतिमा ताजा रहेको उल्लेख गर्दै पोखराको सराङ्कोटमा पदयात्रा गर्दा महिलाहरूले गाग्रीमा पानी बोकेको दृश्यले आफूलाई पानीसम्बन्धी अध्ययनतर्फ प्रेरित गरेको रोचक प्रसंग सुनाए।


सम्राट नारुहितोले प्राकृतिक विपद्का बेला दुवै देशले एक–अर्कालाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि जापानले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
जापान भ्रमणकै क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायलाई सम्बोधन गरेका छन् भने परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग पनि शीष्टाचार भेट गरेका छन्। आजै जापानका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button