हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको सहिद कालिका मोटरमार्ग : दशकौँको धुलो यात्रा अब कालोपत्रेतिर

प्रहार समाचार । तनहुँ, २० माघ २०८२ मङ्गलबार । तनहुँका नगरपालिका–८ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको धुलो, हिलो र कष्टकर यात्राको दिन अब अन्त्यतर्फ लागेको छ । व्यास–८ कालिका सहिद मोटरमार्ग अमले जौबारीदेखि बिलाउनीसम्म कालोपत्रे गर्ने योजनाका लागि चालु आर्थिक वर्षमै १६ करोड रुपैयाँ बजेट सुनिश्चित भएपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहल, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, व्यास–८ का वडा अध्यक्ष युवराज गुरुङ, जिल्लाका अन्य नेता तथा वडाबासीको समन्वयमा बहुप्रतिक्षित सडक आयोजना अघि बढेको हो ।


यस योजनाअन्तर्गत अमले जौबारी, बर्लाची, सोतिबेसी, रिस्ती फेदी, बाहुनपोखरा, गाडापानी, पुलिमराङ, लप्री हुँदै बिलाउनीसम्मको सडकलाई चरणबद्ध रूपमा कालोपत्रे गरिनेछ ।
वडा अध्यक्ष युवराज गुरुङका अनुसार पहिलो चरणका लागि ४ करोड रुपैयाँको ठेक्का लागिसकेको छ र निर्माण कार्य सुरु भइसकेको छ । “यसै आर्थिक वर्षभित्र बाहुनपोखरासम्म सडक कालोपत्रे हुन्छ,” उनले बताए । बाँकी १२ करोड रुपैयाँका लागि टेन्डर आव्हान भइसकेको र अर्को आर्थिक वर्षमा दोस्रो चरणअन्तर्गत गाडापानी, पुलिमराङ, लप्री हुँदै बिलाउनीसम्म कालोपत्रे गरिने उनले जानकारी दिए ।


स्थानीयवासीका लागि सहिद कालिका मोटरमार्ग केवल सडक मात्र नभई शिक्षा, स्वास्थ्य, व्यापार र आपतकालीन सेवासँग जोडिएको जीवनरेखा हो । वर्षायाममा एम्बुलेन्स समेत चल्न नसक्ने अवस्थाबाट गुज्रँदै आएका बासिन्दाले अब सहज यातायातको आशा गरेका छन् ।


सडक स्तरोन्नतिमा विशेष चासो र पहल गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल र स्वकीय सह–सचिव सुशील तिमल्सेनालाई सम्पूर्ण वडाबासीको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ । स्थानीयको लामो संघर्ष र समन्वयपछि सुरु भएको सहिद कालिका मोटरमार्गको कालोपत्रे यात्रा सफल रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button