प्रहार समाचार । तनहुँ, २० माघ २०८२ मङ्गलबार । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ अन्तर्गतको व्यास शिवपाञ्चायन परिसरलाई ‘हिंसा मुक्त क्षेत्र’ घोषणा गरिएको छ । देउराली नगरतर्फको गेटबाट सिधा मादी–सेती संगम स्थल, पश्चिमतर्फ बाल उद्यान, उत्तरतर्फ वि.पि. वनबाटिका खेल मैदानको डिल र दक्षिणतर्फ मादी–सेती संगमदेखि व्यास झुलासम्मको क्षेत्रलाई हिंसा मुक्त क्षेत्र तोकिएको हो । तस्बिर : प्रहार अनलाईन मिडिया ।

उक्त क्षेत्रमा पशु, पन्छी, माछा, गड्यौला लगायत कुनै पनि जीवजन्तुको बध पूर्ण रूपमा निषेध गरिएको छ । साथै धुम्रपान र मद्यपानसमेत गर्न नपाइने व्यवस्था गरिएको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । उनले धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने शिवपाञ्चायन परिसरको संरक्षणका लागि यस्तो निर्णय गरिएको बताए ।

‘यो क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र होइन, जैविक विविधताको पनि धरोहर हो,’ वडा अध्यक्ष रानाले भने, ‘यहाँ कुनै पनि प्रकारको हिंसा, नशा वा अवाञ्छित गतिविधि सह्य हुँदैन ।’

वडा कार्यालयका अनुसार नियम उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित नियमअनुसार जरिवाना गरिनेछ । स्थानीयबासी र भक्तजनलाई नियम पालना गर्न आग्रह गरिएको छ । व्यास नगरपालिका–३ वडा कार्यालय दमौली, तनहुँले जारी गरेको यस निर्णयलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार यसले धार्मिक स्थलको गरिमा जोगाउनुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्नेछ ।
























