प्रहार समाचार । लमजुङ, १४ माघ २०८२ बुधबार । लमजुङमा किसानहरुले यस बर्ष अलैँची बेचेर लोभलाग्दो आम्दानी गर्न सफल भएका । यस बर्ष यहाँका किसानले उत्पादित गरेको १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० लाख रुपैयाँ आम्दानी भित्रिएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले जनाएको छ । कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची प्रतिकिलो एक हजार ८ सय देखि दुई हजार ५ सय रुपैयाँसम्म बिक्री हुँदा उत्पादन कम भए पनि कुल आम्दानी बढ्न सफल भएको हो ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादन शून्य दशमलव ४ प्रतिशतबाट घटेर शून्य दशमलव ३९ प्रतिशतमा झरेको छ । तर छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादनमा कमी आएकाले अन्तर्राष्ट्रिय माग बढ्दा लमजुङका किसानले राम्रो मूल्य पाएका हुन् । अघिल्लो वर्ष १ सय ५० मेट्रिकटन अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो भने त्यसभन्दा अघिल्ला वर्षहरूमा उत्पादन धेरै भए पनि मूल्य कम हुँदा आम्दानी सीमित भएको तथ्यांकले देखाउँछ ।
अलैँची खेतीले जिल्लाको ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । मर्स्याङ्दी, बेँसीसहर, दूधपोखरी, दोर्दी र क्होँलासोथर क्षेत्रलाई अलैँची जोन तथा पकेट क्षेत्र घोषणा गरिएको छ, जहाँ करिब तीन हजार किसान आबद्ध छन् । नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङका अनुसार यस वर्ष राम्रो आम्दानी भएपछि किसान थप उत्साहित भएका छन् भने विदेशिएका युवासमेत फर्किएर अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् ।



























