काठमाडौँ, १५ माघ २०८२ बिहीबार । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बद्लिँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आकाश पूर्णतया बदली भएको छ भने बाँकी क्षेत्रमा आंशिक बादल देखिएको छ ।

बागमतीका केही स्थान र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले बुधबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने पूर्वानुमान गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ ।
यस्तै, रातिको समयमा पनि तराईका केही स्थानमा हुस्सु लाग्ने तथा पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाको अनुमान छ । सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबै सरोकारवालालाई अनुरोध गरेको छ ।



























