प्रहार समाचार । काठमाडौँ, १३ माघ २०८२ मङ्गलबार । देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा पहाडी र हिमाली क्षेत्रको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ । यी प्रदेशका केही उच्च स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण पहाडी जनजीवन केही प्रभावित हुन सक्नेछ भने हिमाली क्षेत्रमा चिसो बढ्ने संकेत देखिएको छ ।
यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । साथै पहाडी क्षेत्रमा मध्यम वर्षा र तराईका केही स्थानमा हल्का वर्षा हुने देखिएको छ । मौसम परिवर्तनका कारण चिसो, सडक अवस्था र हवाई उडानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



























