हेडलाईनसमाचारप्रदेश

राजनीतिको अखडा बन्दै शैक्षिक संस्था : त्रिवि फेरि तनावको केन्द्रमा

प्रहार समाचार । काठमाडौँ, १२ माघ २०८२ सोमबार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा लागेको ताल्चा प्रशासनले खोले लगत्तै विश्वविद्यालय परिसर पुनः तनावग्रस्त बनेको छ । ताल्चा खोल्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै क्रान्तिकारी विद्यार्थी संगठनले त्रिवि प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

विद्यार्थी संगठनका अनुसार माग सम्बोधन नगरी बलजफ्ती ताल्चा खोलिनु विश्वविद्यालय प्रशासनको दमनकारी प्रवृत्तिको निरन्तरता हो । सोही विरोधमा उनीहरूले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको तत्काल राजीनामा माग गर्दै कडा नाराबाजी गरेका हुन् ।


नाराबाजीका क्रममा विद्यार्थीहरूले विश्वविद्यालयलाई संवादभन्दा शक्तिको भरमा चलाउन खोजिएको आरोप लगाएका छन् । “विद्यार्थीका जायज माग बेवास्ता गर्दै प्रशासनले ताल्चा खोल्नु समस्या समाधान होइन, झन् चर्काउने काम हो,” एक विद्यार्थी नेताले बताए ।

यसअघि विभिन्न शैक्षिक तथा प्रशासनिक माग राख्दै विद्यार्थी संगठनले त्रिविका कार्यालयहरूमा ताल्चा लगाएका थिए । तर मागबारे ठोस सहमति नहुँदै प्रशासनले एकतर्फी रूपमा ताल्चा खोलेपछि असन्तोष चुलिएको हो । परिस्थिति तनावपूर्ण बनेपछि त्रिवि परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । विश्वविद्यालय प्रशासनले भने नियमित शैक्षिक गतिविधि सञ्चालनका लागि ताल्चा खोलिएको प्रतिक्रिया दिएको छ ।
त्रिविमा पछिल्लो समय दोहोरिँदै आएको तालाबन्दी र विरोध प्रदर्शनले शैक्षिक वातावरण प्रभावित हुँदै आएको छ । विद्यार्थी र प्रशासनबीच संवादको अभावले समस्या झनै जटिल बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button