हेडलाईनसमाचारप्रदेश

फागुन २१ को निर्वाचन लक्षित आचारसंहिता कडाइका साथ लागू गरिने

प्रहार समाचार । तनहुँ, १२ माघ २०८२ सोमबार । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते नजिकिँदै गर्दा निर्वाचन आयोग नेपालले चुनावी प्रचारप्रसारलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ।

निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, तिनका भातृ संगठन तथा सम्बन्धित व्यक्तिहरूलाई लक्षित गर्दै प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने स्पष्ट मापदण्ड सार्वजनिक गरेको हो। आयोगका अनुसार लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन यी आचरणहरू अनिवार्य रूपमा लागू हुनेछन्।


आचारसंहिताअनुसार जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। कुनै पनि दल वा उम्मेदवारले अरूको कार्यक्रम बिथोल्ने, अवरोध गर्ने वा असहज स्थिति सिर्जना गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।


त्यसैगरी, एकै स्थान वा एउटै मार्गमा एकै समयमा एकभन्दा बढी दल वा भातृ संगठनले कार्यक्रम गर्न नपाउने प्रावधान राखिएको छ। यस्तो अवस्था आएमा स्थानीय प्रशासनले दिएको स्थान वा मार्ग परिवर्तनसम्बन्धी निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने आयोगले जनाएको छ।


प्रचारप्रसारका कार्यक्रमहरू बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने व्यवस्था गरिएको छ। साथै, जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्नुअघि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई मिति, समय, स्थान र मार्गबारे कम्तीमा २४ घण्टा अगावै जानकारी दिनुपर्नेछ।


निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ। आयोगका अधिकारीहरूका अनुसार प्रतिस्पर्धा विचार र नीतिमा केन्द्रित हुनुपर्ने भन्दै शक्ति प्रदर्शन, अव्यवस्था र तनाव सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट सन्देश दिइएको छ।


फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको आयोगको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button