प्रहार समाचार । तनहुँ, १२ माघ २०८२ सोमबार । विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यसहित लियो क्लब अफ तनहुँले ‘लियो अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ।

व्यास नगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता यहि माघ १४ र १५ गते तनहुँ उद्योग वाणिज्य संघको सभाहल, दमौलीमा आयोजना गरिने लियो क्लब अफ तनहुँका अध्यक्ष रोविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा व्यास नगरपालिकाभित्र +२ तह सञ्चालनमा रहेका १८ व माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितालाई प्रारम्भिक, दोस्रो र अन्तिम गरी तीन चरण (राउन्ड) मा सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
सामान्य ज्ञान अन्तर्गत खेलकुद, राजनीति तथा कानून, स्थानीय तह, विज्ञान तथा प्रविधि, भूगोल, नेपालको इतिहास, स्वास्थ्य तथा जनसंख्या, साथै लायन्स र लियो आन्दोलनसम्बन्धी प्रश्नहरू समावेश गरिनेछ। प्रतियोगितालाई थप रोचक बनाउन ¥यापिड फायर राउन्ड र भिजुअल राउन्ड समेत समावेश गरिएको छ।
प्रारम्भिक चरणमा विभिन्न समूहमा विभाजन गरिएका विद्यालयमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ६ टोलीहरू फाइनल राउन्डमा प्रवेश गर्नेछन्। अन्तिम चरणमा उत्कृष्टता प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १५ हजार, द्वितीय टोलीले १० हजार र तृतीय टोलीले ५ हजार नगद सहित प्रमाण पत्र पाउने छन्। लियो क्लब अफ तनहुँले यस्ता कार्यक्रममार्फत शैक्षिक गुणस्तर सुधार, नेतृत्व विकास र युवाहरूमा सकारात्मक प्रतिस्पर्धाको संस्कार विकास गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


























