प्रहार समाचार । काठमाडौँ, ११ माघ २०८२ सोमबार । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिन लागेसँगै आज आइतबार सातै प्रदेशमा निर्वाचन हुँदै छ । फागुन २० गते पदावधि समाप्त हुने सदस्यहरूका लागि माघ ११ गते बिहान ८ बजेदेखि प्रदेश राजधानी तोकिएका मतदान केन्द्रमा मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदानका सबै तयारी पूरा भएका छन् भने कोशीदेखि सुदूरपश्चिमसम्म प्रदेश निर्वाचन कार्यालय, विद्यालय तथा सांस्कृतिक केन्द्रमा मतदान केन्द्र तोकिएका छन् ।

यस निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था छ । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको छ । सातै प्रदेशमा गरी कुल २०३८ मतदाता भए पनि कतिपय पदाधिकारीले राजीनामा दिएपछि नामावलीमा केही रिक्त पदसमेत समेटिएको आयोगले जनाएको छ । मतदाताले मतदाता परिचयपत्र, निर्वाचित प्रमाणपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न पाउने छन् ।
१८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको यस निर्वाचनमा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा सहभागी छन् । सबैभन्दा बढी चार सदस्य मधेश प्रदेशबाट निर्वाचित हुने छन् भने अन्य प्रदेशबाट महिला, दलित, अपाङ्गता वा अल्पसङ्ख्यक र अन्य समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । निर्वाचन आयोगले समूह र निर्वाचक अनुसार फरक–फरक रङका १८ प्रकारका मतपत्र प्रयोग गर्ने जनाएको छ । प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेर्ने संवैधानिक व्यवस्थाअनुसार यो निर्वाचन राष्ट्रिय सभाको निरन्तरता र समावेशिताको अर्को परीक्षा बनेको छ ।


























