प्रहार समाचार । काठमाडौँ, ११ माघ २०८२ आइतबार । हाल देशभर न्यूनचापीय प्रणाली सक्रिय हुँदा नेपालको मौसममा आंशिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाले जनाएअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। यस्तै, अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने देखिएको छ ।
मौसमको प्रभावका कारण पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, विशेषगरी यातायात र स्वास्थ्य क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने रातिको समयमा पनि हल्का हिमपात तथा वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बिहान–साँझको समयमा बाहिर निस्कने नागरिकलाई मौसमको अवस्थाबारे सचेत रहन आग्रह गरेको छ।


























