प्रहार समाचार । तनहुँ, १० माघ २०८२ शनिबार । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस तनहुँ व्यास नगर कार्यसमितिले संगठनात्मक शक्ति प्रदर्शनसहित चुनाव केन्द्रित रणनीति सार्वजनिक गरेको छ। व्यासमा सम्पन्न विस्तारित बैठकले वडा र टोल तहको सक्रियता, युवाको सहभागिता र डिजिटल माध्यमको आक्रामक प्रयोगलाई मुख्य चुनावी अस्त्र बनाउने निर्णय गरेको हो।

बैठकमा बोल्दै प्रतिनिधि सभ क्षेत्र नं. १ सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू पदको आकांक्षी नभ जनताको सेवक भएर विकास अभियानमा खटिने प्रतिबद्धता व्यक्त गरे । उनले बुद्धसिंह मार्गको पुल निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नक्सा तयार भइसकेको उल्लेख गर्दै उक्त मार्गलाई पक्की बनाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व नगर सभापति बैकुण्ठ न्यौपानेले मतदाता शिक्षा र स्थानीय सरोकारलाई केन्द्रमा राख्दै व्यास–१४ का टोल–टोलमा छलफल र भेटघाट अभियान सुरु भइसकेको जानकारी दिए । त्यस्तै, व्यास–१३ का सभापति काजिमान श्रेष्ठले ठूला भाषणभन्दा टोल र वडा स्तरको सक्रियता नै निर्णायक हुने भन्दै भातृ संगठनलाई चुनावी मैदानमा उतार्नुपर्ने धारणा राखे ।

युवा मतदातालाई लक्षित गर्दै बैठकमा प्रविधि र सामाजिक सञ्जालको भूमिकामाथि विशेष चर्चा गरिएको थियो। नेपाल शिक्षक संघका सभापति रमेशचन्द्र भट्टराईले १८ देखि २४ वर्ष उमेर समूहका युवाको सोच र अपेक्षा बुझेर राजनीति गर्नुपर्नेमा जोड दिए । यूवा नेता दिपक भट्टराईले एकताबद् कार्यकर्तामार्फत डिजिटल प्लेटफर्मको अधिकतम उपयोग गरे चुनाव सजिलै जित्न सकिने बताए । यूवा नेता नवीन राज पौडेलले ‘काङ्ग्रेस बदलिएको छ’ भन्ने सन्देश सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा प्रवाह गर्न सुझाव दिए ।

संगठन विस्तारतर्फ क्षेत्रीय सभापति विश्वेश्वर खनालले श्यामकुमार मौरातीको संयोजकत्वमा १०८२ सदस्यीय नगरस्तरीय परिचालन समिति गठन गरिएको जानकारी दिए । कार्यक्रममा नेता रघु पौडेलले २००७ सालदेखिको काङ्ग्रेसको इतिहास स्मरण गराउँदै गुम्दै गएको राजनीतिक पहिचान जोगाउन कार्यकर्ताहरू स्वार्थरहित सेवाभावका साथ अघि बढ्नुपर्नेमा जोड दिए । नगर सभापति सूर्यचन्द्र हडखलेले जनताको स्वतन्त्रता बिना विकास सम्भव नहुने उल्लेख गर्दै पुलिमरङदेखि रुम्सीसम्म एकीकृत चुनावी अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरे । नगर कोषाध्यक्ष शोभा बडु अधिकारीको स्वागत मन्तव्य र नगर सचिव सुरेश पुरीले सहजिकरण गरेको बैठकले वडा तहका समिति र सामाजिक सञ्जाललाई योजनाबद्ध रूपमा परिचालन गर्दै चुनावी तयारीलाई तीव्र बनाउने निष्कर्ष निकालेको छ।


























