प्रहार समाचार । काठमाडौं,१० माघ २०८२ शनिबार । आईसीसी टी–२० विश्वकपको तयारीलाई तीव्र बनाइरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा प्रभावशाली प्रदर्शन गर्दै श्रीलंका ‘ए’ लाई सात विकेटले पराजित गरेको छ। बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित खेल देखाउँदै नेपालले सहज जित दर्ता गरेको हो।

आज सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३२ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो। नेपालका बलरहरूले सुरुआतदेखि नै दबाब बनाउँदै विपक्षीलाई ठूलो स्कोरतर्फ जान दिएनन्। शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनले श्रीलंका ‘ए’ को ब्याटिङ क्रम धराशायी बन्यो। उनले चार ओभरमा एक मेडनसहित २० रन खर्चेर चार विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट हात पारे।
जवाफमा ब्याटिङमा उत्रिएको नेपालले लक्ष्यलाई चुनौतीका रूपमा लिइन। कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै ३५ बलमा ४९ रन बनाउँदा नेपाली इनिङ्स सहज दिशातर्फ अघि बढ्यो। मध्यक्रममा आरिफ शेखले २२ बलमा अविजित २४ रन जोड्दै जित सुनिश्चित गरे। दीपेन्द्रसिंह ऐरीले १५ बलमा अविजित २२ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १९ रन बनाए। नेपालले मात्र १६.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
यसअघि श्रीलंका ‘ए’ का करुणारत्नेले ३८ रन र डिकवेलाले ३३ रन बनाए पनि उनीहरूको पारी टोलीलाई प्रतिस्पर्धी स्कोरसम्म पुर्याउन पर्याप्त भएन। विश्वकपको तयारीका क्रममा आएको यो जितले नेपाली टोलीको आत्मविश्वास थप बलियो बनाएको छ। अभ्यास खेलमै सशक्त प्रदर्शन गर्न सकेको नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ।


























