प्रहार समाचार । तनहुँ, १० माघ २०८२ शनिवार । जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी र व्यवसायीबीचको सहकार्यलाई उजागर गर्दै तनहुँ सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलाई सम्मान गरेको छ ।

संघको नवौं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा आज पेशागत लगनशीलता र सर्वसाधारणप्रतिको जवाफदेहितालाई मूल्यांकन गर्दै कार्कीलाई कदर–पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले अपराध नियन्त्रण, व्यवसायिक सुरक्षाको प्रत्याभूति र नागरिकमैत्री प्रहरी सेवामा प्रहरी प्रमुख कार्कीको भूमिकाले जिल्लामा सकारात्मक सन्देश दिएको उल्लेख गरे। विशेषगरी सुनचाँदी व्यवसायजस्ता संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापनमा प्रहरीको सक्रियताले व्यवसायीहरू सुरक्षित महसुस गर्न थालेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा संघका अध्यक्ष हरि गहतराजले प्रहरी–व्यवसायीबीचको विश्वास र सहकार्यले मात्रै दीगो शान्ति र सुरक्षित व्यापारिक वातावरण निर्माण हुने बताए। प्रमुख अतिथि तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहनकुमार वि.क.ले पनि प्रहरी नेतृत्वको प्रशंसा गर्दै यस्ता सम्मानले जिम्मेवारीबोध अझ बलियो बनाउने धारणा राखे।


























