हेडलाईनसमाचारप्रदेश

‘कांग्रेस बद्लिए मात्रै देश बदलिन्छ’ – सभापति गगन थापा

प्रहार समाचार । काठमाडौँ, ९ माघ २०८२ शुक्रबार । नेपाली कांग्रेसका नव–निर्वाचित सभापति गगनकुमार थापाले पदबहालीसँगै पार्टी रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्ने सन्देश दिएका छन्। ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा लेखिएको प्रतिबद्धतामार्फत उनले ‘कांग्रेस बद्लिए मात्रै देश बदलिन्छ’ भन्ने दृष्टिकोण अघि सारेका हुन् ।

सभापति थापाले “बदल्यौं कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारासहित नयाँ यात्राको औपचारिक सुरुवात भएको उल्लेख गर्दै पार्टीको अन्तिम लक्ष्य देशको समुन्नति भएको बताएका छन्। उनको प्रतिबद्धताले संगठनभित्रको सुधार, नेतृत्वको जिम्मेवारीबोध र राष्ट्रिय विकासलाई केन्द्रमा राख्ने संकेत गरेको छ ।


केन्द्रीय कार्यालयमा गरिएको पदबहालीपछि लेखिएको माइन्युटमा थापाले व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउने संकल्प झल्काएका छन्। विगतमा सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै अघि बढ्ने सन्देश पनि प्रतिबद्धतामा निहित देखिन्छ।


राजनीतिक विश्लेषकहरूका अनुसार सभापति थापाको यो पहिलो औपचारिक अभिव्यक्तिले कांग्रेसभित्र परिवर्तनको अपेक्षा बढाएको छ। विशेषतः युवामैत्री नेतृत्व, नीतिगत स्पष्टता र कार्यसम्पादनमा परिणाममुखी भूमिकाको संकेत देखिन्छ।
आज गरिएको उक्त प्रतिबद्धतालाई कांग्रेसको नयाँ अध्यायको प्रारम्भका रूपमा लिइएको छ। अब यो संकल्प व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्नसँगै कांग्रेसको आगामी यात्रा सभापति थापाको नेतृत्व क्षमतासँग जोडिएर हेरिन थालेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button