प्रहार समाचार । तनहुँ, ९ माघ २०८२ शुक्रबार । साहित्य, संस्कृति र बहसको साझा थलो बनाउँदै तनहुँको व्यास नगर पालिकामा ‘व्यास नगर साहित्यिक महोत्सव–२०८२’ दमौलीमा सुरु भएको छ। व्यास नगरपालिका र व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज र भोलि सम्म सञ्चालन हुने महोत्सवले स्थानीयदेखि राष्ट्रिय स्तरका साहित्यिक आवाजलाई एउटै मञ्चमा जोडेको छ ।


महोत्सवको उद्घाटन गर्दै व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले साहित्य केवल सिर्जनाको माध्यम मात्र नभई समाज रूपान्तरणको प्रभावकारी औजार भएको उल्लेख गरे। उनले “साहित्यले समाजको चेतना जगाउँछ, भाषा, पहिचान र इतिहासलाई पुस्तान्तरण गर्छ,” भन्दै स्थानीय साहित्यिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउन नगरपालिकाले सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

गण्डकी वाङ्मय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समितिको सह-आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय साहित्य, मातृभाषा संरक्षण, मौलिक संस्कृति र समावेशी विमर्शलाई सशक्त बनाउनु पर्नेमा जोड दिए। उनीहरूले साहित्यिक महोत्सवले नयाँ पुस्तालाई सिर्जनातर्फ आकर्षित गर्दै विचारको लोकतन्त्र बलियो बनाउने धारणा राखे।

महोत्सवमा कविता वाचन, साहित्यिक बहस, अनुभव साटासाट, पुस्तक विमोचन तथा स्रष्टा सम्मानलगायत विविध कार्यक्रम समावेश गरिएको छ। आयोजक व्यास नगर प्रज्ञा प्रतिष्ठानका अनुसार महोत्सवले व्यास नगरलाई साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।

स्थानीय साहित्यप्रेमी, स्रष्टा, विद्यार्थी र संस्कृतिकर्मीहरूको उल्लेख्य सहभागिता रहेको महोत्सवले दमौलीको साहित्यिक माहोललाई थप उचाइ दिएको सहभागीहरूको भनाइ छ।


























