प्रहार समाचार । काठमाडौँ, ९ माघ २०८१ शुक्रबार प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आज निर्णायक चरणमा प्रवेश गरेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको हो। उम्मेदवारी फिर्ता प्रक्रिया सकिएलगत्तै आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी आज अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरु औपचारिक प्रचार–प्रसारमा होमिनेछन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय तोकिएको थियो। सो दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उजुरी संकलन गरिएको थियो भने दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।


आयोगका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा एक जना अन्य समूहका उम्मेदवार रहेका छन्। यही माघ ६ गते देशभर एकैसाथ मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमार्फत कुल २ सय ७५ सदस्य चयन गरिनेछ। जसमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन्। आजको उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरणसँगै चुनावी प्रतिस्पर्धाको वास्तविक तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।



























